• September 30th, 2013

साँच्चै नै संस्थाको हितको बारेमा सोच्ने हो भने यो पटक मेरो पहिलेको कामको सिको गर्दै अरु कोहिबाट त्याग गरियोस्

जहिले पनि एकै व्यक्तिले जहिले पनि त्याग गर्नुपर्छ भन्ने मलाई लाग्दैन त्यसैले यो बारेमा मैले सोचेको छैन र साँच्चै नै संस्थाको हितको बारेमा सोच्ने हो भने यो पटक मेरो पहिलेको कामको सिको गर्दै अरु कोहिबाट त्याग गरियोस् भन्ने म चाहन्छु ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी विश्व सम्मेलन नजिकिँदै छ । अध्यक्षको लागि धेरैले नै उम्मेदवारी घोषणा गरिसकेकोले सर्वसम्मत नेतृत्व पाउने सम्भावना क्षीण छ ।
यसबिच गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का संरक्षक रामप्रताप थापाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । स्थापनाकालदेखि एनआरएनए अभियानमा सक्रिय थापा जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत पनि हुन् ।
उनीसँग ओएनएसले गरेको कुराकानी ।

गैरआवासीय नेपाली संघको अध्यक्षमा तपाइँको उम्मेदवारी किन ?

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिनुको पछाडि धेरै योजनाहरु छन् । मैले एनआरएनको सांगठनिक बिकास र समग्रमा नेपाल र नेपालीको हितमा नै काम गर्ने योजना छ । किन भने यहि उद्धेश्यका साथ २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको हो । हामीले यो मुलमन्त्रलाई जहिले पनि आत्मसाथ गर्नुपर्छ ।

मैले २००९ पछीको उम्मेदवारी पुन दिन चाहेको किन भने एनआरएनएलाई यथासीघ्र सर्वमान्य र बलियो संस्था वनाउन आवस्यक छ र यसका लागि मेरो अनुभव अनि प्रयास प्रयाप्त पनि छ भन्ने मेरो बुझाइ हो यसैले मैले अध्यक्षको लागि उमेदवारी दिने घोषणा गरेको हुँ ।

१० वर्षको समयममा एनआरएनएको अभियान तीव्र रुपमा सोचे जस्तो अगाडी वढन सकेको छैन यो सबैले बुझेको कुरा हो यसमा मैले केही कमजोरीहरु देखेको छु र यसलाई सच्याएर एउटा बलियो सशक्त संस्था वनाउन म चाहान्छु यो सम्भव पनि छ भने समग्रमा आफ्नो मातृभूमिका लागि हामीले निरन्तर प्रयास गर्न जरुरी छ त्यसै अनुसार मैले भोलीका दिनमा आफ्नो टिम अनि अभियानमा सगसगै हातेमालो गर्दै आउनुभएका अभियन्ताहरुको सहयोग र सद्भावका साथ अघि बढ्ने छु ।

अध्यक्षको लागि धेरैको उम्मेदवारी रहेको छ । अरुलाई नजिताई तपाइँलाई नै जिताउनुपर्ने कारण के ?

अहिले अध्यक्षका लागि आकांक्षी साथीहरुमात्रै होइन म त के भन्छु भने एनआरएनका धेरै साथीहरु नेतृत्व लिन सक्षम हुनुहुन्छ । किन भने सबैले आआफ्नो क्षेत्रमा एउटा अनुभव हाँसिल गरेको हुन्छ । त्यो अनुभवको आधारमा संगठनलाई पनि नेतृत्व दिन सक्नु हुन्छ । तपाई हामीलाई थाहा छ विश्वमा सफल नेपालीहरु धेरे भै सके ।

तर उनीहरु एनआरएनको नेतृत्व लिन किन अगाडि आएका छैनन् भने धेरैलाई भ्रम भयो की यो संस्थाको नेतृत्व गर्ने भनेको आर्थिक रुपमा सफल भएका ब्यक्तिले मात्रै हो । जसको लागि यसअगाडिदेखि नेतृत्वमा बसेका हामीहरुको दोष छ । किनभने एनआरएन भनेको सबै क्षेत्रका एनआरएनहरुले अवसर पाउछन् भन्ने मान्यता हामीले स्थापित गर्न सकेनौँ ।

त्यसैले अहिले जसजसले अध्यक्षको लागि आफूलाई अगाडि सार्नु भएको छ उहाँहरु सबैप्रति मेरो सम्मान छ । उहाँहरु मेरो सहयात्री साथीहरु हुनुहुन्छ । यति हो, मैले दश वर्षको अनुभवका आधारमा एनारएनलाई नयाँ गति दिँदै एउटा सम्मानित उचाइँमा पुर्याउने विशेष योजनाहरु बनाएको छु त्यो पुरा गर्ने चाहना अनुसार नै एक कार्यकालको लागि कार्यकारी पदमा बस्न चाहेको हुँ ।

मलाई बिश्वास छ यो मेरो चाहनालाई सबैले जसरी अहिले स्वभाविक रुपमा लिदिनु भएको छ यो मेरो कार्यकाल भरि नै त्यहिस्तरको विश्वास गरिरहने गरि मैले काम सम्पादन गर्ने छु ।

तपाइँ त संस्थापक मध्येकै व्यक्ति । तपाइँको उम्मेदवारीलाई कसरी बुझ्ने ?

यसलाई मेरो आम गैरआवासीय नेपाली दाजुभाइ दिदीबाहिनीहरुले सकारात्मक रुपमा लिनु भएको छ । मेरो उम्मेदवारी पनि उहाँहरुको माया स्दभाव अनि सिङ्गो संगठनको आवश्यकता हो भनेर सबैले बुझन जरुरी छ जस्तो मलाई लाग्छ । किनभने मसँग धेरै पुरानो अनुभव छ र यहि अनुभव र संस्थागत हितका लागि काम गर्न सक्ने व्यक्तित्वको संगठनमा अहिले आवश्यकता पनि छ ।

किन भने सस्थागत हितका लागि हामीले धेरै काम गर्न जरुरी छ, अहिलेसम्म त हामीले मात्र सांगठनिक बिकासको लागि प्रयास गर्यौँ अब हामीले मुलुकबाहिर बस्ने नेपालीको हक अधिकारको लागि अनि नेपाल र नेपालभित्र रहनुभएका आम जनताको लागि पनि काम गर्ने बेला आएको छ ।

संस्थागत रुपमा भन्नु पर्दा संयुक्त लगानी, नेपाली नागरिकताको निरन्तरता खाडी मुलुकका साथीहरुको रोजगारी र सुरक्षा जस्ता सवालहरुमा हामीले धेरै काम गर्न आवश्यक छ भने मुलुकबाहिर कामको शिलशिलामा रहनुभएका नेपाली चेलीहरुको हकअधिकारको लागि पनि हामीले काम गर्न जरुरी छ |

त्यसैले यो सबै गर्नका लागि गैर आवासीय नेपालीको अवस्था बुझेको अनुभवी व्यक्तित्वको आवश्यकता छ जसको लागि म सक्षम पनि छु त्यसैले मेरो उम्मेदवारीलाई सबैले सहज रुपमा स्वीकार गरी सहयोग गरिदिनुहुन म सबैलाई अनुरोध गर्छु ।

एनआरएनएमा पछिल्लो समय मुख्य गरेर नेतृत्व कसले लिने भन्ने विषयमा विवाद आइरहेको छ । यस्तो विवादका बाबजुत तपाइँले नेतृत्व गर्ने अवसर पाउनुभयो भने पनि काम गर्न सहज होला र ?

विवाद हुनु स्वभाबिक नै हो किन भने हामीले धेरै सावालमा केन्द्रित हुन जरुरी छ र त्यसको सम्बोधनको लागि गम्भीर रुपमा प्रयास गर्न जरुरी पनि छ जुन कुरा हुन सकिरहेको छैन यहीँ नै हाम्रो अहिलेसम्म भएको कमजोरी हो । नेपालभित्र भन्दा पनि हाम्रो मुद्दा प्रवासमा जटिल छ । त्यसैले हाम्रो ज्ञान, सीपको स्तर वढाउन उच्च शिक्षा हासील गर्ने पेशागत विकास गर्नु एनआरएनएको कर्तव्य हो भन्ने मलाई लाग्दछ ।

पछिल्लो समयमा एनआरएन भित्र पनि राजनितिक रङ्ग देखिन थालेको छ यो बारेमा हामीले स्थापनाकाल देखि नै हुन हुँदैन भनेर लागि परेका थियौँ र छौँ ।

राजनीतिक आस्था सबैसँग हुन्छ यो मान्छेको अधिकार पनि हो तर यसलाइै एनआरएन जस्तो सेवामुलक संस्थामा प्रयोग गरिनु हुदैन भन्ने मेरो मान्यता हो । त्यसैले यसमा यथाशीघ्र नयाँ मोड ल्याउनु पर्दछ भन्ने मेरो धारणा छ । हाल विभीन्न ठाउँका एनसीसीहरुमा निस्कीएको झमेलाहरुवाट पनि सुधार गर्नुपर्ने कुरा
प्रष्ट भएको छ, हामीले यसको समयमा नै सुधार गर्नु आवश्यक छ ।

तपाइँ त अनुशासन समितिमा पनि हुनुहुन्छ । संघका रहेका व्यक्तिहरुलाई अनुशासनमा बाँध्न त पूर्ण रुपमा सफल भएको देखिन्न नि ?

म अनुसासन समितिमा छु र यसले आवस्यकता अनुसार प्रभावकारी रुपमा काम गरिरहेको छ । कुनै पनि समस्या आउने बित्तिकै हामीले आवेशमा आएर कसैको मान र प्रतिष्ठामा आँच आउने हिसाबले काम गर्नु हुँदैन भन्ने मेरो मान्यता पनि हो र हामीले यसै पनि गर्दै आएका छौँ ।

कहिलेकाहीँ साथीहरुको बिचमा बैचारिक मतभेद देखिएको छ जुन कुरा स्वाभाविक पनि हो यस्तो समयमा हामीले सम्बन्धित पक्ष सबैसँग बसेर छलफल गरि आवश्यकता अनुसारका प्रकृयाहरुलाई अघि बढाउन सक्नु नै हितपयोगी हुन्छ । अर्को कुरा हाम्रो संगठन अब पहिलेको जस्तो सानो घेरामा छैन ।

यसको सञ्जाल बिश्वभरको ६४ मुलुकमा फैलिइसकेको छ यो हिसाबमा यदाकदा साथीहरुको बिचमा मनमुटाव हुनु अनौठो कुरा होइन तर मैले यसो भनेर भएका गल्ती कमजोरी सच्चाउन आवश्यक छैन पनि भन्न खाजेको होइन ।

नागरिकता सम्बन्धि समस्या र विवाद पनि जस्ताको तस्तै देखिन्छ । नागरिकता सम्बन्धी कार्यदलको तपाइँ संयोजक । यसमा किन प्रगती हुन सकेन ?

हो म नेपाली नागरिकताको निरन्तरताको लागि कार्यदलको अध्यक्ष भएर काम गरिरहेको छु । यसमा समग्रमा हाम्रो टिमले निकै धेरै र निरन्तर रुपमा राजनीति र प्रशासनिक तहमा प्रयास गरिहेको छ र भविष्यमा पनि यसो गर्नै पर्छ ।

अहिलेसम्म गरेको हाम्रो प्रयासको फलस्वरुप नयाँ संविधानमा दोहोरो नागरिकताको विषयलाई सम्बोधन गर्न हामी सफल भएका छौँ तर संयोग सबिधान सभाले तयार पारेको ड्राफ्टले सफलता पाउन सकेन तर पनि अव यो प्रकृयाले निरन्तरता पाउदा हाम्रो सवालको पनि सम्बोधन हुनेमा हामी विश्वस्त छौँ ।

यो विषयवस्तु वुझाउन हामीलाई धेरै समय लाग्यो तर आउने एनआरएनको नयाँ पुस्ताका लागि नेपाली नागरीकताको निरन्तरता भनेको नेपालको व्यक्तित्वको लगानी हो भन्ने कुरामा नेपालका नीतिगत तहका सबै जानकार हुनु भैसकेको हुदा हामी विश्वास गर्छौ कि यसले मुर्त रुप पाउँछ र यो विषयमा विवाद छ भन्ने कुरामा म विश्वस्त पनि छैन किन भने यो हामी गैर आवासीय नेपालीको कुनै व्यक्तिगत स्वार्थका लागि होइन ।

संस्थालाई विभाजित हुनबाट रोक्न तपाइँले कसैलाई समर्थन गरेर त्याग वा समर्थन गर्ने सम्भावना छ कि छैन ?

होइन तपाईलाई सम्झना होला मैले यो प्रकारको त्याग आज भन्दा धेरै पहिले नै गरिसकेको छु र सस्थागत विकासको क्रममा काम गर्दे जादा जहिले पनि एकै व्यक्तिले जहिले पनि त्याग गर्नुपर्छ भन्ने मलाई लाग्दैन त्यसैले यो बारेमा मैले सोचेको छैन र साँच्चै नै संस्थाको हितको बारेमा सोच्ने हो भने यो पटक मेरो पहिलेको कामको सिको गर्दै अरु कोहिबाट त्याग गरियोस् भन्ने म चाहन्छु ।

ठोस रुपमा तपाइँका आगामी योजनाहरु के छन् ?

एनआरएनको अध्यक्षको उम्मेदवारको हैसियतले मेरो एजेण्डा पनि अरु साथीहरुको भन्दा फरक छैन र हुदैन पनि किन भने समग्रमा हाम्रा समस्या सामुहिक छन् । त्यसैले मेरो विचारमा व्यक्ति व्यक्तिको एजेण्डा एनआरएनमा खोज्नु ठीक होइन ।

मेरो १० वर्षको अनुभवमा मलाई एनआरएनको सामुहिक एजेण्डा मात्रै हुन्छ भन्ने लाग्छ जस अन्र्तगत:

१) नेपाली नागरीकताको निरन्तरताका लागि छिटो प्रयास गर्ने ।
२) सामुहिक लगानीको लागि तीव्र प्रयास गर्ने
३) वैदेशीक रोजगारलाई गुणस्तरीय वनाउने
४) मातृभूमिमा रोजगारमुलक उद्योग स्थापना गर्ने र स्वदेशमै रोजगारीको सृजना गर्ने
५) कर्मभूमिमा सामाजिक सेवाका लागी नेपालीहरुको अवस्था सुधार गर्ने
६) संस्कृती प्रर्वद्धनको लागि प्रावधान तयार गर्ने ।

हाम्रा समस्याहरु यस वाहेक अझै अनगिन्ती छन । अव आउने नेतृत्वले पनि यी सवै कुरालाई समेटेर अगाडि वढनु पर्ने हुन्छ । अर्को सबैभन्दा महत्वपुर्ण कुरा एनआरएनको दर्ता र संस्थागत विकास गर्नुपर्ने छ । अव एनआरएनको दर्तामा ढिलाई गर्नु हुँदैन र एनआरएनलाई एउटा बलियो संस्था बनाउन छिट्टै पहल गर्नु पर्ने देखीन्छ ।

यसका लागि संस्थागत रुपमा तत्कालिन र दिर्घकालिन योजना बनाएर निरन्तर काम गर्नु पर्ने मैले बुझेको छु र यसैको अधारमा म अघि बढ्ने छु ।


Leave a Reply