• October 11th, 2013

सर्वसम्मत नेतृत्व चयनकालागि अपील

गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली सँघको छैठौं विश्व सम्मेलनमा भाग लिन काठमाण्डू जानुलाग्नुभएका सबै प्रतिनिधिहरुलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपील गर्नुभएको छ।

एक वक्तव्य प्रकाशित गर्दै थापाले गैरआवासीय नेपाली संघको अध्यक्ष पदका आकांक्षीलाई संस्थाभित्र बृहत्तर एकताको आधारमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्न पहल गर्न पनि आह्वान गर्नुभएको छ।

थापाको वक्तव्यको पूर्ण पाठ:

गैरआवासीय नेपाली सँघको छैठौं विश्व सम्मेलनमा भाग लिन जानुलाग्नुभएका सबै प्रतिनिधि साथीहरुमा नमस्कार।
सर्वप्रथम त म यहाँहरु सपरिवारमा विजया दशमी २०७० को अवसरमा सुख, सुस्वास्थ्य तथा सम्मृद्धिको मँगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

मित्रहरु,
गैरआवासीय नेपाली सँघ स्थापनाको दश वर्ष पुरा हुँदै गर्दा आयोजना हुन लागेको यो सम्मेलनको ऐतिहासिक महत्व छ। हामीले अहिलेसम्मका उपलब्धिहरुलाई संस्थागत गर्दै कमसेकम आउँदो एक दशककालागि मार्ग निर्देश गर्नु पर्ने आवश्यकता छ। गएको दश वर्षमा गैरआवासीय नेपाली संघ विश्वभरि फैलिएका नेपालीहरुलाई समेटन सफल भएको छ र अब हामीले आफ्नो परिचय दिइरहनुपर्ने आवश्यकता छैन। तर संस्थागत सुदृढिकरण तथा गैरआवासीय नेपाली समुदायका मुख्य चासोका विषयहरुलाई नेपाल सरकार तथा संबन्धित निकायहरुसँग समन्वय गरी कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती पनि छँदैछ।

यस्तो परिस्थितिमा छैठौं विश्व सम्मेलनले कस्तो नेतृत्व चयन गर्छ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हुने स्वतस् स्पष्ट छ। खासगरी आगामी दुई वर्षकालागि गैरआवासीय नेपाली सँघको नेतृत्व गर्न अगाडि सर्नुभएका साथीाहरुले यो विषयलाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने म ठान्दछु।

छैठौं विश्व सम्मेलनको पूर्व सन्ध्यामा केही राष्ट्रिय समितिहरुको निर्वाचनका क्रममा देखिएको विवादलाई राम्रो परम्परा मान्न सकिँदैन। तपाई, हामी सबैको प्रयासले ती विवादहरु धेरैहदसम्म सुल्झाउन सफलता प्राप्त भएको छ, तर समस्याको जरो सम्म पुग्न भने दरिलो आँट र सबैलाई समेटनसक्ने नेतृत्वको आवश्यकता अरु टडकारो महसुस भएको छ।

खाडी मुलुकहरुमा लाखौं नेपालीहरुले भोग्नु परेका समस्या हुन् वा नेपाली नागरिकताको निरन्तरता जस्ता विषय हामी एकजुट भएरमात्रै तिनलाई संबोधन गर्न सक्छौं।

त्यस्तै सिँगो नेपाल दोश्रो संविधानसभाको चुनावमा होमिएका बेला हामीले आफ्नो व्यक्तिगत महत्वाकाँक्षा भन्दा संस्थाको मर्यादा र छविप्रति बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यसैले खासगरी गैरआवासीय नेपाली संघको अध्यक्ष पदका आकाँक्षी साथीहरुले संस्थाभित्र बृहत्तर एकताको आधारमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्न पहल गर्नुहुन म हार्दिक अपील गर्दछु।

त्यस्तै विगतका वर्षहरुमा जस्तै यसपटक पनि चुनावभन्दा आपसी सहमति र सहकार्यका आधारमा नेतृत्व चयनकालागि आआफ्नो ठाउंबाट सकारात्मक योगदान पुराउनुहुन पनि म सबै प्रतिनिधिसाथीहरुलाई आह्वान गर्दछु।

धन्यवाद

रामप्रताप थापा
संरक्षक, गैरआवासीय नेपाली संघ
अक्टोबर ८, २०१३

Source: http://www.onsnews.com


Leave a Reply