• October 13th, 2013

शुभ बिजया दशमी २०७० को पावन अवसरमा तपाईको सुख शान्ति र दिर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना

आदरणीय गैर आवासीय नेपाली साथीहरु

शुभ बिजया दशमी २०७०को पावन अवसरमा तपाईको सुख शान्ति र दिर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

साथीहरु हामी गैरआवासीय नेपालीहरु केहि दिन पछि नै हुन गइरहेको बिश्व सम्मेलन र नयाँ नेतृत्वको चयनका क्रममा छौ । यसै सन्दर्भमा आगामी नेतृत्वका लागि म राम प्रताप थापाले पनि अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेको यहाँहरु सबैलाई जानकारी गराउदै बिस्तृत जानकारीका लागि मेरो उम्मेद्धवारीको घोषणा पत्र पनि यसै साथ राखेको छु ।

गैरआवासीय नेपाली संघसंग आबद्ध प्रिय मित्रहरु,

गएको दशवर्षमा हामी सबै मिलेर गैरआवासीय नेपाली संघलाई यो स्थानमा ल्याई पुराउन सफल भएका छौं। मातुभूमिको भलाइ र नेपालीहरुको हकहित सुरक्षित गर्न गैरआवासीय नेपाली संघको स्थापना र प्रबर्द्धनमा तपाईंहरु सबैसंग सहकार्य गर्ने अवसर पाउंदा मैले आफुलाई गौरवान्वित ठानेको छु।

अरु सकृयरुपमा संघको सेवा गर्ने इच्छा भएकाले मैले सन् २०१३-१५ कार्यावधिकालागि गैरआवासीय नेपाली संघको केन्द्रिय अध्यक्ष पदकालागि उम्मेदवारी दिने घोषणा गरेको सविनय जानकारी गराउन चाहन्छु।

सन् २००३ मा संघको स्थापना कालदेखि नै मैले गैरआवासीय नेपाली संघको केन्द्रमा रहेर काम गर्ने अवसर पाएको छु। उपाध्यक्ष र संरक्षकको अलावा दोहोरो नागरिकता संबन्धी कार्यदलको संयोजकको रुपमा पनि मलाई दिइएको जिम्मेवारी मैले आफ्नो क्षमताले भ्याएसम्म निर्वाह गरेको तपाईंहरु सबैलाई अवगत नै छ। यसबाहेक दीगोपना संबन्धी कार्यदल, बाढी पीडित सहयोग कार्यदल तथा अनुशासन समितिको अध्यक्षको रुपमा पनि मैले काम गरिसकेको छु।

गैरआवासीय नेपाली संघको बृहत् एकताकालागि सन् २००९ को चौथो विश्व सम्मेलनका क्रममा मैले अध्यक्ष पदमा सर्वसम्मतिले चयन भैसक्दा पनि सहमतिको वातावरण बनोस् भन्नकालागि श्री देवमान हिराचनलाई छाडीदिएको तपाईंहरु सबैलाई अवगत नै छ। त्यसैगरी सन २०११ को पांचौ विश्व सम्मेलनका क्रममा उदाउदो पुस्तालाई नेतृत्व दिनु उपयुक्त हुने साथीहरुको सुझाव बमोजिम वर्तमान अध्यक्षलाई मैले खुला हृदयले समर्थन गरेको हुं। कुनै औपचारिक पद धारण गर्नु भन्दा गैरआवासीय नेपाली संघको प्रबर्धनमा मैले विश्वास गर्दै आएको छु।

गैरआवासीय नेपाली संघ स्थापनाको दश बर्ष पुरा हुंदैगर्दा हामी अहिले एउटा अत्यन्त महत्वपूर्ण मोडमा आईपुगेका छौं र हामीले कैयौं महत्वपूर्ण विषयहरुलाई अगाडि बढाउनु पर्नेछ। तीमध्ये केही प्रमुख विषयहरु मेरो विचारमा यसप्रकार छन्:

- नेपालमा एउटा सामाजिक, गैर नाफामुखी संस्थाको रुपमा गैरआवासीय नेपाली संघको विधिवत दर्ता

- नेपालको समृद्ध भविष्य तथा भावी पुस्ताका लागि पनि “एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूल मन्त्रलाई सार्थक तुल्याउन नेपाली नागरिकताको निरन्तरताकालागि सार्थक पहल

- वर्तमान नेतृत्वले ल्याएको सामूहिक लगानी अभियानलाई अरु व्यवस्थितरुपमा अगाडि बढाउंदै भूपू गोर्खा समुदायसमेतको सहभागितामा वित्तीय, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधि हस्तान्तरण लगायत लगानीका नयां क्षेत्रहरुको पहिचान

- नेपाल सरकार, निजी क्षेत्र तथा गैरसरकारी संसंस्थाहरुसंग गैरआवासीय नेपाली संघको सहकार्य तथा विश्वसनीयता बढाउन अभियान

- खाडी मुलुकहरु, मलेसिया लगायत संसारका ६५ देशमा संघसंग आबद्ध नेपालीहरुका समस्याहरुको पहिचान गरी तिनको प्रभावकारी समाधानका लागि प्रयास गर्नुका साथै उनीहरुको सीप, दक्षता र पूंजी नेपालको विकासमा परिचालन गर्न पहल, र

- गैरआवासीय नेपाली समुदायका अभिन्न अंग महिला, युवा तथा बालबालिकाहरुको हितकालागि विशेष कार्ययोजना तर्जुमा, आआफ्नो समुदायमा नेपाली भाषा कक्षा सन्चालन गर्न जोड

गैरआवासीय नेपाली संघको स्थापनाकालदेखिको मेरो संलग्नता एवम् वित्तीय, व्यवस्थापन तथा संगठन निर्माणसंबन्धी मेरो पेशागत अनुभवका आधारमा माथि उल्लेखित एजेण्डाहरुलाई दृढतापूर्वक अगाडी लान मेरो ठोस योजना मैले छिट्टै यहांहरु समक्ष प्रस्तुत गर्नेछु। अझ महत्वपूर्ण कुरा त मैले एकचित्त भै संगठनको सेवामा अरु बढी कृयाशील हुने अठोट गरेको पनि तपाईं सबै मित्रहरुलाई जानकारी गराउन चाहन्छु।

आउंदा दिनहरुमा मैले आफै भेटेर वा फोन लगायतका माध्यमबाट तपाईंहरु सबैसँग सम्पर्क राख्ने प्रयास गर्नेछु। मेरो यस अभियानमा तपाईंहरुसबैको अमूल्य सुझाव, सहयोग र सदभावना प्राप्त हुनेछ भन्ने मैले दरिलो विश्वास पनि लिएको छु।

धन्यवाद।

रामप्रताप थापा
संरक्षक, गैरआवासीय नेपाली संघ
स्काइप: rampthapa
इमेल: thapa@web.de
फोन 9851065565
३ अगष्ट २०१३


Leave a Reply