• October 10th, 2013

नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्नुपर्छ – Ram P. Thapa To nepalipatra.com

रामप्रताप थापा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का संरक्षक हुन् । संस्थाको स्थापनाकालदेखि नै विभिन्न महत्वपूर्ण भूमिकामा रहेर एनआरएन अभियानमा सक्रिय जर्मनी निवासी थापा आउँदो विश्व सम्मेलनमा आगामी कार्यकालको अध्यक्षका रुपमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । हाल उनले दोहोरो नागरिकता कार्यदलको संयोजकका रुपमा समेत काम गरिरहेका छन् ।
उनै थापासँग नेपालीपत्रका लागि गरिएको कुराकानीः

अहिले केमा व्यस्त हुनुहुन्छ ? एनआरएनको विश्व सम्मेलनको माहोल कस्तो भइरहेको छ ?

व्यस्त त म सधैँजसो हुन्छु किनभने आफ्नो काम सबैको हुन्छ । त्यसमाथि पनि एनआरएनको विश्व सम्मेलनले मलाई अलिक व्यस्त भने बनाएको नै छ । साथीहरुसँग फोन, मेलमा कुराकानी अनि कहिले काहिँ बैठकहरुमा पनि सहभागी हुने मौका मिल्छ ।

स्थापना कालदेखि नै यहाँ एनआरएन अभियानमा सक्रिय हुनुहुन्छ । विगतदेखिको समीक्षात्मक दृष्टिकोणले हेर्दा यस अभियानलाई कसरी हेर्नुहुन्छ ?
यो अभियान नितान्त सामाजिक सेवामा समर्पित अनि मुलुकबाहिर रहेका आम नेपाली र मातृभूमिको हितको लागि चालिएको अभियान हो, जसले हामीलाई जहिले पनि नेपाल र नेपालीको पहिचानसहित जिउन सिकाएको छ ।

एनआरएन अभियानले यो दशक लामो यात्रामा हासिलको गरेको मुख्य उपलब्धि के हो ?

मेरो विचारमा बुँदागत रुपमा भन्दा, ६४ मुलुकमा हाम्रो अभियानको लागि विश्वव्यापि सञ्जालको रुपमा विस्तार, संयुक्त लगानी, मुलुक बाहिरका नेपालीको हक अधिकार स्थापनामा खेलेको भूमिका र समग्रमा नेपाल र नेपालीको हितमा मुलुकभित्र गरिएका प्रयास नै मुख्य उपलब्धि हुन् ।

एनआरएनका भावि दिनका चुनौतीहरु के-के हुन् ?

सिक्काको दुई पाटो जस्तै हाम्रो पनि एनआरएनको पनि केही सफल अनि सकारात्मक पक्ष छ भने केही चुनौती पनि । चुनौती त हाम्रो सामु नभएको होइन, एनआरएको दर्ता, नेपाली नागरिकताको निरन्तरता कायम अनि यसको विश्वव्यापीकरण भए सँगसँगै समन्वयात्मक रुपमा सहकार्य गरी अभियानको स्थायित्व हो ।

एनआरएन अभियानमा तपाईंको योगदान के हो ?

यो अभियानमा म स्थापनाको समय २००३ देखि हालसम्म निरन्तर लागिरहेको छु र आगामी दिनमा पनि म यस अभियानप्रति प्रतिबद्ध नै हुनेछु । अब मैले कस्तो योगदान गरेँ भन्ने बारेमा मैले भन्दा पनि यो अभियानमा सँगसँगै हिँड्नु हुने मेरा अभियन्ता सहकर्मीहरुले मलाई धेरै बुझ्नुभएको छ र यसैको आधारमा मेरो योगदानको मूल्याङ्कन पनि गर्नुहुनेछ ।

तपाईं एक पटक अध्यक्षको अवसर आएर पनि नखाएको मान्छे । आसन्न विश्व सम्मेलनमा अध्यक्षमा समेत उम्मेदवारी घोषणा गर्नुभएको छ, किन ?

हेर्नुहोस्, मलाई सबैले यही कुरा सोध्नुहुन्छ, कुनै बेला त्यस्तो समयमा आउँछ परिबन्दमा परिन्छ कि संस्थागत हितको लागि दीर्घायीत्वको लागि जो कोहीले पनि ठूलो अवसरलाई त्यागमा बदल्नु पर्छ । मेरो त्यति बेलाको घटनाक्रम पनि यस्तै एक हो । तर अहिले म मेरो त्यस्तै त्याग र योगदानलाई आत्मसात गर्दै अध्यक्ष पदको लागि उम्मेद्वारीको घोषणा गरेको छु ।

स्थापनाकालदेखि मैले संस्थाको लागि धेरै गरेको छु र संस्थाको हितको लागि के कसरी काम गर्नुपर्छ, अहिलेको कमजोरी के हो अनि कहाँ हो भन्ने पनि मेरो १० वर्षको अनुभवले मलाई राम्रोसँग थाहा छ । त्यसैले पनि मैले एक कार्यकालका लागि अध्यक्ष पदको लागि उम्मेद्वारीको दिएको हो ।

तपाईंका एजेण्डाहरु के के छन् ?

एनआरएनको अध्यक्षको उम्मेद्वारको हैसियतले मैले समग्रमा मेरो १० वर्षको अनुभवका आधारमा तयार पारेको छु । सबैभन्दा महत्वपूर्ण कुरा, एनआरएनको दर्ता र संस्थागत विकास, नेपाली नागरिकताको निरन्तरताका लागि प्रयास, सामूहिक लगानीको लागि तीव्र प्रयास, वैदेशिक रोजगारलाई गुणस्तरीय बनाउने, मातृभूमिमा रोजगारमूलक उद्योग स्थापना गर्ने र स्वदेशमै रोजगारीको श्रृजना गर्ने, कर्मभूमिमा सामाजिक सेवाका लागि नेपालीहरुको अवस्था सुधार गर्ने, नेपाली संस्कृति र भाषाको प्रर्वद्धनको लागि प्रावधान तयार गर्ने रहेको छ भने यसबाहेक हाम्रो सवाल अझै धेरै छन् । अब आउने नेतृत्वले पनि यी सबै कुरालाई समेटेर अगाडि बढनु पर्ने हुन्छ, त्यसको लागि म तयार छु ।

अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । यसलाई कसरी लिनुहुन्छ ?

धेरै संख्यामा अध्यक्षको उम्मेदवारीको घोषणा हुनु यसको लोकपि्रयताको प्रदर्शन हो । प्रजातान्त्रिक प्रद्धतिमा हामी सबैले यसलाई सहज स्वीकार गर्न सक्नुपर्छ । अहिले जो जसले उम्मेद्वारीको घोषणा गर्नुभएको छ, सबैले यो कुरा बुझ्नु भएको छ भन्ने मैले लिएको छु ।

अध्यक्ष हुनलाई त पैसा र समय दुवै उत्तिकै चाहिन्छ भन्ने सुनिन्छ नि ?

यो कुरामा म पूर्ण रुपमा सहमत छैन किनभने एनआरएन धनीहरुको मात्र संस्था होइन । यो मुलुकबाहिर रहेका सबै नेपालीको छाता संगठन हो । यहि उद्देश्यका साथ अघि बढेको छ हाम्रो अभियान र यसले नै निरन्तरता पाउनुपर्छ । समयको कुरामा भने हो विश्वव्यापि सञ्जालको अध्यक्ष भएपछि स्वाभाविक रुपमा समय दिन सक्नु पर्छ भन्ने मेरो बुझाइ छ ।

नेपालमा त एनआरएनहरु गफ मात्र गर्छन्, काम गर्दैनन् भन्ने जनगुनासो पनि बढ्न थालेको छ नि ?

कुरा त्यस्तो होइन । हामी नेपाल सरकारका लागि सहयोगीको रुपमा रहेर काम गर्न सक्छौँ । यो होइन कि नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्नुपर्छ । अनि हामीले जे जति गर्न सक्छौँ त्यो गरिरहेका छौँ र यो निरन्तर रुपमा पनि गरिरहने छौँ । त्यसैले एनआरएनलाई बढी महत्वाकांक्षी भएर बुझ्न भएन भन्ने मेरो अनुरोध छ ।

सामूहिक लगानी परियोजना र सय मिलियन डलरको फण्ड निर्माणको महत्वकांक्षी योजनाजस्ता लगानीका कार्यक्रमहरु कसरी अगाडि बढिरहेका छन् ?

महत्वाकांक्षी योजना भए भन्ने होइन कि प्रयास हुँदाहँुदै पनि एनआरएनको सामूहिक लगानीमा सोचे भन्दा बढी समय लाग्यो पछिल्लो समयमा यो काम अगाडि बढेको छ । यसमा गर्नुपर्ने धेरै कामहरु छन् । आर्थिक रुपमा कमजोरी भएका अधिकांश व्यक्तिहरुको संलग्नता न्यून भयो भन्ने आरोप लागेको छ । यो स्वभाविकै पनि हो । जुनसुकै जसले वा जुन कम्पनि खोलेको भए तापनि लगानी गर्नेले आफूलाई ठीक लागेको ठाउँमा मात्रै लगानी गर्न पाउनु पर्दछ । एनआरएनएको आफ्नै लगानी नहुने हुँदा व्यक्तिव्यक्तिको लगानीको कम्पनीमा लेखाजोखा स्पष्ट हुनु पर्ने देखिन्छ ।

संस्था दर्ता, सामूहिक लगानी, दोहोरो नागरिकताजस्ता सवालहरु कसरी अगाडि बढिरहेका छन् ?

यी तिनै वटा काम तीव्र रुपमा अघि बढिरहेको छ । मैले अघि पनि भनिसकेँ, केही ढिलो गरी भए पनि संयुक्त लगानीको काम शुरु भैसकेको छ भने संस्थाको दर्ता र दोहोरो नागरिकताको लागि पनि हाम्रा प्रयासहरु जारी नै छन् । दोहोरो नागरिकताको कुरामा विगतको संविधानमा एनआरएनका कुरालाई सम्बोधन भएको थियो तर अपसोच त्यो संविधानले पूर्णता पाउन सकेन तर पनि हामी आशा गरौँ एक दिन यो कामले पनि पूर्णता पाउनेछ ।

एनआरएन मिलिनियर्स क्लबजस्तो भयो भन्ने पनि सुनिन्छ ?

यो कुरामा वास्तविकता म देख्दिनँ । मेरो विचारमा एनआरएनए एउटा विश्वव्यापि संस्था हो । र, केही त्यस्ता काम भएको पनि छ, जसले हाम्रो अभियानमा निरन्तर बिना स्वार्थ लाग्नुभएका साथीहरुले यो महसुस गर्ने वातावरण बनेकेा छ । यसलाई हामीले गम्भीर रुपमा विचार गर्न आवश्यक छ । हामीले अझै पनि धनिलाई मात्र नेतृत्वमा सार्ने कुरा गर्‍यौँ भने हामीले एनआरएनको अस्तित्व र प्रशंसा दुवै गुमाउँछौँ । त्यो हुन दिनु हुँदैन ।

एनआरएनमा पछिल्लो समयमा संस्थाभन्दा पनि बढी पदलाई महत्व दिएको देखिन्छ । यो संस्थाका लागि कति राम्रो कुरा हो ? एनसीसीहरुमा पनि नेतृत्वका लागि नै विवादहरु आए ।

त्यस्तो होइन, एनआरएनको पद पाउनेले कुनै व्यक्तिगत स्वार्थ हासिल गर्ने होइन पूर्ण रुपमा संस्थाको हितमा काम गर्नुपर्ने हुन्छ । त्यसैले साथीहरुले बिना स्वार्थ काम गर्ने चाहना राख्नुभएको हो भन्ने बुझाई मेरो छ । म एनसीसीमा देखिएको विवाद होइन मतभेद भएको भन्छु र सामान्य छलफलपछि यसको समाधान हुन्छ र भैसकेका पछिल्ला उदारणहरु पनि तपाईंहाम्रा सामु सार्वजनिक भैसकेकोछ ।
विभिन्न देशका एनसीसीहरुमा गुटबन्दी, भ्रष्टाचार हावी भएको कुराहरु पनि चर्चामा आइरहेका छन् । यी समस्याहरु दीर्घकालसम्म जारी रहे भने संस्थाको अस्तित्व नै कमजोर बन्छ ।

आगामी दिनमा यस्ता समस्याहरु आउन नदिन तपाईंसँग के भिजन छ ?

संस्थागत रुपमा भन्ने हो भने ६५ मुलुकमा फैलिसकेको संस्थामा एकाध विवाद आउनु स्वभाविक नै हो किनभने हामीले धेरै सवालमा केन्दि्रत हुन जरुरी छ । त्यसको सम्बोधनको लागि गम्भीर रुपमा प्रयास गर्न आवश्यक पनि छ । जुन कुरा अहिले हुन सकिरहेको छैन । यहि नै अहिलेसम्म नेतृत्व पक्षबाट भएको कमजोरी हो । नेपालभित्र भन्दा पनि हाम्रो मुद्दा प्रवासमा जटिल छ । त्यसैले हाम्रो ज्ञान, सीपको स्तर बढाउन उच्च शिक्षा हासिल गर्ने पेशागत विकास गर्नु एनआरएनएको कर्तव्य हो भन्ने मलाई लाग्दछ ।

अर्को कुरा, पछिल्लो समयमा एनआरएनभित्र पनि यदाकदा राजनीतिक रङ्ग देखिन थालेको छ । यो बारेमा हामीले स्थापनाकालदेखि नै हुन हुँदैन भनेर लागिपरेका थियौँ ।

राजनीतिक आस्था सबैसँग हुन्छ । यो मान्छेको अधिकार पनि हो तर यसलाई एनआरएन जस्तो सेवामूलक संस्थामा प्रयोग गरिनु हुँदैन भन्ने मेरो मान्यता हो ।

त्यसैले यसमा यथाशीघ्र नयाँ मोड ल्याउनु पर्दछ । हाल विभिन्न ठाउँका एनसिसिहरुमा निस्किएका समस्याको मूल कारण पनि यहि हो र यसलाई समयमा नै सुधार गर्नु आवश्यक छ ।

विधानलाई सर्वमान्य बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ? विधानकै विषयलाई लिएर पनि कतिपय ठाउँमा विवादहरु भएका छन्, नि ?

२००३ मा केही साथीहरुको बीचमा गरिएको छलफलको आधारमा तयार पारिएको विधान हो । अहिले संस्था विश्वव्यापि भएको छ । यो अवस्थामा मुलुकको संविधान त समयअनुसार परिवर्तन गर्न जरुरी ठानेर पटक-पटक संविधान संशोधनदेखि लिएर संविधानसभाको चुनाव भएको छ भने हामीले पनि वृहत्तर रुपमा छलफल चलाएर साथीहरु र संस्थाको मागअनुसार केही बुँदाहरुमा परिवर्तन गर्नुपर्ने मैले पनि महसुस गरेको छु ।

सदस्यता शुल्क, सांगठनिक संरचना परिवर्तनका सवालहरु कसरी सम्बोधन हुन सक्छन् ?

तपाईंले भन्नु भएका यी सवालहरुलाई हामीले सामूहिक छलफलबाट नै सहज सम्बोधन गर्न सक्छौँ । एनआरएनको विभिन्न समयमा विभिन्न स्थानमा क्षेत्रीय सम्मेलन तथा सभाहरु हुन्छन् । त्यस्ता सभा सम्मेलनमा हामीले सवालगत हिसाबमा छलफल चलाउन सक्छौँ र यसैको आधारमा हाम्रो चुनौती र सवालको सम्बोधनका लागि बाटो पहिल्याउन सक्छौँ । सांगठनिक संरचनाको कुरा गर्दा कुनै एक व्यक्तिले एक स्थानमा बसेर संगठनको विकास गर्न सक्दैन । यसैले यसलाई बिस्तारै क्षेत्रीयकरण गर्दै लैजानु पर्छ भन्ने मेरो मान्यता हो । बिभिन्न क्षेत्रबाट गरिएको संयोजनलाई केन्द्रसम्म पुर्‍याउने बलियो संरचनाको निर्माण गर्न जरुरी छ ।

तपाईंले बनाउन चाहेको भावि एनआरएन कस्तो हो ?

मैले चाहेको र भावि एनआरएनको बारेमा गरेको कल्पनामा आर्थिक सामाजिक रुपमा सक्षम, विश्वव्यापि रुपमा स्थापित, मातृभूमिका लागि पूर्ण रुपमा समर्पित र संगठित संस्था हो । यसैका लागि मैले आगामी दुई वर्षको लागि मेरो ज्ञान, सीप र समय पूर्ण रुपमा समर्पित गर्न चाहन्छु । अध्यक्ष पदको लागि मैले दिएको उम्मेदवारी पनि यसैको रुप हो ।

Source: nepalipatra.com: नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्नुपर्छ


Leave a Reply