• September 8th, 2013

एनआरएनलाई धनीको मात्र संस्था बनाइंदैछ

४० वर्ष देखि जर्मनीको कोलोनमा छन् गैर आवासीय नेपाली संघका संरक्षक रामप्रताप थापा । बैंकिङ क्षेत्रमा फाइनान्स एनलिष्ट भएर लामो समय काम गरेका थापासंग एनआरएन फाउण्डर मेम्बर, आइसीसी मेम्बर, रिजनल भाइस प्रेसिडेन्ट, ग्लोवल भिपी र संरक्षक सम्म भएर काम गरेको अनुभव छ । उनी जर्मन नेपाल फ्रेण्डसीप एसोसिएसनका अध्यक्ष पनि हुन् ।

सन् १९५० मा गोरखा जिल्लामा जन्मिएका थापाले आगामी अक्टोबर १९ देखि २२ सम्म काठमाण्डौमा हुने गैर आवासीय नेपाली संघको विश्व सम्मेलन तथा छैटौं महाधिवेशनमा केन्द्रिय अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणासंगै थापाको चुनावी सक्रियता समेत बढेको छ । उनले किन उम्मेदवारी दिए ? उनका एजेण्डा के के छन् ? सबैले अपेक्षा गरेको एनआरएन कुन दिशातिर जाँदैछ ? आदि विषयमा नेपाली सन्देश साप्ताहिकले गरेको कुराकानीको सार यहाँ प्रस्तुत छ:

एनआरएन अध्यक्षमा तपाईंको उम्मेदवारी एकाएक आयो त ?

संघमा स्थापना कालदेखिको संलग्नता एवं वित्तिय, व्यवस्थापन तथा संगठन निर्माण सम्वन्धि पेशागत अनुभवका आधारमा आफ्ना एजेण्डाहरुलाई दृढतापूर्वक अगाडि लैजाने ठोस योजनासहित उम्मेदवारी घोषणा गरेको हुँ । एनआरएनमा अरु सक्रिय भएर काम गर्ने इच्छा भएकाले पनि केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने निधो गरेको छु, आशा छ साथीहरुले मेरो इच्छा पुरा गरिदिनुहुनेछ । मैले दिन्छु मात्र भनेको छु, लिन्छु भनेको छैन् ।

के के छन् तपाईंका एजेण्डा ?

संघले एक दशक पुरा गर्दै गर्दा यसका प्राथमिकता पनि बढ्दै गएका छन् । नेपालमा गैर नाफामुखी संस्थाको रुपमा संघको विधिवत दर्ता, नेपालको समृद्ध भविष्य तथा भावी पुस्ताका लागि पनि एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन नेपाली नागरिकताका लागि सार्थक पहल, वर्तमान नेतृत्वले ल्याएको सामूहिक लगानी अभियानलाई अरु व्यवस्थित रुपमा अगाडि बढाउंदै भूपू गोर्खा समुदाय समेतको सहभागितामा वित्तिय, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधि हस्तान्तरण लगायत लगानीका नयां क्षेत्रहरुको पहिचान, नेपाल सरकार, निजी क्षेत्र तथा गैर सरकारी संघसंस्थाहरुसंग संघको सहकार्य तथा विश्वसनीयता बढाउन अभियान, खाडी मुलुक मलेसिया लगायत संसारका ६५ देशमा संघसंग आवद्ध नेपालीहरुका समस्याको पहिचान गरि तिनको प्रभावकारी समाधानमा प्रयास गर्नुका साथै उनीहरुको सिप, दक्षता र पूंजी नेपालको विकासमा परिचालन गर्न पहल गर्ने र गैर आवासीय नेपाली समुदायका अभिन्न अंग महिला, युवा तथा वालवालिकाको हितका लागि विशेष कार्ययोजना तर्जुमा र आआफ्नो समुदायमा नेपाली भाषा कक्षा सञ्चालन गर्न जोड दिने मेरो प्रमुख प्राथमिकता हुनेछ । मैले यसलाई घोषणापत्रका रुपमा सार्वजनिक गरिसकेको छु ।

जनमत जित्न संस्थामा केही योगदान नदिइ हुन्न । एनआरएनमा तपाईंको योगदान के छ ?

संघ स्थापना कालदेखिनै केन्द्रमा रहेर काम गर्ने अवसर पाएँ मैले । दश वर्ष भयो म एनआरएनमा होमिएको, एनआरएन भन्दा बाहिर कहिल्यै गइन । उपाध्यक्ष र संरक्षक अलवा दोहोरो नागरिकता सम्वन्धि कार्यदलको संयोजकको रुपमा दिइएको जिम्मेवारी क्षमताले भ्याएसम्म निर्वाह गरें भन्ने लाग्छ । यसबाहेक दीगोपनसम्वन्धि कार्यदल, बाढीपीडित सहयोग कार्यदल तथा अनुशासन समितिको अध्यक्षको रुपमा पनि काम गरेको अनुभव मसंग छ ।

तपाईं अध्यक्ष भइसकेर पनि छोडेको मान्छे, अहिले फेरि एक्कासी चुनावी मैदानमा उत्रनुभयो त ?

हो, संघको वृहत एकताका लागि सन् २००९ को चौंथो विश्व सम्मेलनका क्रममा म अध्यक्ष पदमा सर्वसम्मतिले चयन भइसक्दा पनि सहमतिको वातावरण बनोस् भनेर देवमान हिराचनलाई जिम्मेवारी सुम्पिएको सबैलाई ज्ञात छ । हिराचनजीको कार्यकालपछि उदाउंदो पुस्तालाई नेतृत्व दिन वर्तमान अध्यक्ष जीवा लामिछानेलाई खुल्ला ह्दयले जिम्मेवारी सुम्पेको पनि कसैबाट छिपेको छैन् । त्यसकारण यस पटक मलाई सघाइदिनुस्, समस्त गैर आवासीय नेपालीमा मेरो आग्रह छ । तीन तीन चोटी अध्यक्ष छोडें । मैले सहमतिमा जाँदा एनआरएन बलियो हुन्छ भनेर छोडेको थिएँ । देवमानजी नमानेपछि ११ घण्टा अध्यक्ष भइसकेको मान्छे पनि चटक्क छोडिदिएँ ।

सहमतिका लागि यसपटक पनि पक्कै कसरत हुन्छ, कसैले छोड्न आग्रह गऱ्यो भने तपाईं मान्ने ?

जीवाजी फेरि आउनुहुन्छ भने म छोड्छु तर नयाँ मान्छेलाई म यसपटक कुनै पनि हालतमा छोड्दिन । मैले रामेश्वर, हितमान, शेष, तेन्जिंगजी सबैसंग सल्लाह गरेरै उम्मेदवारी घोषणा गरेको हो । जीवा जीले मलाई समर्थन गर्नुभएको छ ।

अब एनआरएनलाई मेरो आवश्यकता पनि छ ।

जीवाजीले पनि मलाई समर्थन गर्नुभएको छ । संरक्षक भइसकेको मान्छे किन अध्यक्ष भन्ने प्रश्न आउला । तर, म भन्छु संस्था बिग्रन लागेको बेला, टुक्रिन र सामाजिक विखण्डन आउन लागेका बेला अर्थात संस्था कमजोर र संकटग्रस्त बन्दै गएका बेला मैले सम्हाल्नुपर्छ भन्ने ठानें । मातृभूमिलाई सहयोग गर्ने लक्ष्य पनि हो मेरो ।

एनआरएनको अस्तित्व अब सकिन लागेको ठान्नुभएको हो ?

एनआरएन जन्मिएको दश वर्ष भयो तर हामीले आम जनताको अपेक्षा अनुरुप केही गर्न सकेनौं । एनआरएनका विभिन्न कमजोरी छन् । दश वर्षमा जुन विकृति आयो, जुन संरचनात्मक कमजोरी देखियो यसले संस्थाप्रति नकारात्मक भावना बढ्दै गएको निश्चित हो । संस्थामा राजनीति नगर्ने भनेर विधानमा लेख्ने तर चुनावी प्रक्रियामा गएर, राजनीतिक दलको गोटी बनेर किन लड्ने ? बेला बेला राज्य व्यवस्था त चेन्ज गर्नुपर्छ भने एनआरएन किन सधैं यथास्थितिमा रहने ? दश वर्ष भइसक्यो जन्मिएको, अब परिवर्तनशील हुनुपर्छ एनआरएन ।

संस्था बलियो बनाउन के जरुरी छ तपाईंको विचारमा ?

एनआरएन खत्तम, कमजोर भयो भन्न खोजेको पनि होइन । मिसन राम्रो छ यसको, काम गर्दै जांदा केही कमी कमजोरी आए होलान्, त्यसलाई सुधार गर्दै जानु परेको छ । कति कुरामा हामी सफल पनि भएका छौं । नेपाल सरकारबाट एनआरएन ऐन आयो, आइडी कार्ड पनि भयो । नेपालमा लगानी सुरक्षा, विदेशमा हातेमालो गरेर काम गर्ने भएर थप चुनौती बढेको हो । राम्रा काम भएका छन्, तर समय अनुसार जानुपऱ्यो ।

कतिपयले संस्थालाई मिलिनियर्स क्लव भन्न थालेका छन्, सबैलाई समेट्न सकेन भन्ने आरोप पनि छ । कतिपयबाट विभाजनका धम्की पनि आइरहेको सुनिन्छ । के भन्नुहुन्छ यसबारे ?

आरोप सही हो, मिलिनियर्स क्लव र व्यापारिक संस्था जस्तै देखिएको छ यो । यस आशंका निवारण गर्न हामीमाथि चुनौती छ । हामीलाई सबैको सपोर्ट चाहिन्छ । जनसाधारणको पनि मर्म बुझ्नुपर्छ । एनआरएन ग्लोवल संस्था हो डायस्पोराको । संसारका विभिन्न मान्छे यसमा अटाएका छन् । धनीलाई मात्र समर्थन गर्ने होइन, कामदार पनि भोटर्स हुन भन्ने सोच्नुपर्छ । अब हामीले एनआरएन व्यापारीक संस्थामात्र होइन भनेर प्रतिकार गर्नुपर्ने बेला आएको छ ।

समय र पैसाको खोलो बगाउनुपर्छ रे अध्यक्ष खान त ?

हो अहिले यही गलत अभ्यास विकसित भएको छ एनआरएनभित्र । धनीमात्र यसमा लाग्नुपर्छ वा लिडरसीपका लागि पैसा नै खन्याउनुपर्छ भन्ने सोच्नु मुर्खता हो । धनीले मात्र संस्था चलाउने होइन् नि । खुवी र मन हुने मान्छेलाई पनि अवसर दिइनुपर्छ । अध्यक्ष भएपछि एनआरएन गठन भएका सबै देश गएर उद्घाटन गर्दै हिंड्नुपर्छ र पैसा धेरै चाहिन्छ भन्ने भ्रम व्याप्त छ । च्यारिटी, लगानी, सीप ज्ञान, पढाई सबै हेरेर समान अवसर दिइनुपर्छ ।

तपाईंले चाहेको एनआरएन कस्तो ?

प्रवासमा तीन मिलियन बढि नेपाली छन् भनिन्छ तर सदस्यता खोइ त ? यसको मतलव एनआरएनले सबै समेटन सकेन, यसलाई बलजफ्ती धनीको मात्र संस्था बनाइंदैछ । केही व्यक्तिको स्वार्थका लागि मात्र एनआरएन प्रयोग भइरहेको अवस्था छ, यसलाई सुधार्नु पर्छ ।

एनआरएन दल निकट नहुने भन्ने स्पष्ट छ विधानमा । तर राजनीतिबाट अछुतो रहन सकेन यो । हो मेरो पनि राजनीतिक आस्था छ तर एनआरएन जस्तो संस्थामा आएर पार्टीका अध्यक्षसंग आर्शिवाद माग्ने, कुन दलको कसलाई सपोर्ट छ भन्ने देखिनु विडम्वना हो । हामीले आफ्नै मिसन र भिजनलाई अवहेलना गरिरहेका छौं ।

एक व्यक्तिले एनआरएन चल्दै चल्दैन, क्षेत्रीयकरण गरिनुपर्छ । एनआरएनमा राजनीतिकरण भएको छ, चुनाव हुन दिनु हुन्न । मेरो एउटा सोच, एनआरएनमा दुई वर्षको कार्यकाल छोटो भयो, कमसेकम तीन वर्ष हुन जरुरी छ जसले गर्दा अध्यक्ष हुनेले पनि केही काम गर्न समय पाउँछ । अर्को कुरा, एकदशकमा एनआरएनको एउटा कोष खडा भएन । हरेक ग्लोवल कन्फरेन्समा एक एक करोड उठाउन सकेको भए अहिले संस्था कति बलियो हुन्थ्यो ।


– रामप्रताप थापा
संरक्षक
गैर आवासीय नेपाली संघ

originally published in: nepalisandesh.com


Leave a Reply